धनगढी — कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा प्रहरीले गाडिएको अवस्थामा भेटिएको एक शव उत्खनन् गरेको छ। बिहीबार गाडिएको अवस्थामा फेला परेको शव ३५ वर्षीय गणेश गिरीको भएको खुलेको छ, जसको अन्त्येष्टि केही दिनअघि परम्पराअनुसार गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, डीएसपी राजकुमार सिंहका अनुसार मृतक गिरीलाई असार २८ गते राति उनका १८ वर्षीय भान्जा प्रदीप बोहराले एयरफोन चोरीको आरोप लगाउँदै कुटपिट गरेका थिए। सोही कुटपिटबाट गम्भीर घाइते भएका गिरीको असार ३० गते मृत्यु भएको थियो। त्यसपछि परिवारले शव गाडेर परम्परागत ढंगले अन्त्येष्टि गरेका थिए।
तर, बिहीबार गिरीको हत्या गरिएको भन्ने विशेष सूचना पाएपछि प्रहरीले शव उत्खनन् गरेको हो। प्रहरी अनुसन्धानका क्रममा गिरीका भान्जा प्रदीप बोहरा मुख्य आरोपीका रूपमा पक्राउ परेका छन् भने गिरीका ३३ वर्षीय सहोदर भाइ पदम गिरीलाई घटनामा मतियारको भूमिका खेलेको आरोपमा पक्राउ गरिएको छ।
मृतकको शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको छ भने पक्राउ परेका दुवैजनामाथि अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको थप पृष्ठभूमि खुलाउन अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।