काठमाडौं – साउन महिनाको पहिलो दिन अर्थात् श्रावण सङ्क्रान्तिको अवसरमा आज काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। विशेषगरी महिलाहरू हरियो चुरा, माला र मेहन्दीसहित भगवान् शिवको दर्शन र पूजा गर्न मन्दिर परिसरमा पुगेका छन्।
श्रावण महिनालाई भगवान् शिवको आराधनाका लागि अत्यन्त पवित्र मानिन्छ। यस महिनाभर व्रत बस्ने, पूजापाठ गर्ने, र शिवालयहरूमा दर्शन गर्न जाने परम्परा रहिआएको छ।
आजको दिनबाट सूर्य दक्षिणायनमा प्रवेश गर्ने भएकाले हिन्दू धर्मशास्त्रअनुसार आजदेखि नै दक्षिणायन सुरु भएको मानिन्छ। यही कारणले श्रावण सङ्क्रान्तिलाई धार्मिक दृष्टिले विशेष महत्व दिइन्छ।
विशेषगरी साउन महिनाका सोमबारहरूमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरहरूमा महिलाहरूको उल्लेख्य सहभागिता रहने गर्छ। आजको दिन श्रद्धालुहरू व्रत बसेर पशुपति क्षेत्रमा दर्शन र पूजा गर्न लामबद्ध देखिन्थे। सुरक्षाका लागि प्रहरी परिचालन र मन्दिर व्यवस्थापन पक्षबाट विशेष व्यवस्था गरिएको थियो।