कैलाली – प्रहरीले सवारी ज्यान र लागू औषध सम्बन्धी फरार तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत कैलालीले कैद सजाय र जरिवाना तोकेका उनीहरूलाई बुधवार प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका–३ चिसापानीका २७ वर्षीय विजय आचार्य रहेका छन्। उनलाई सवारी ज्यान कसुर मुद्दामा अदालतले २० दिन कैद र ४ हजार रुपैयाँ जरिवाना तोकेको थियो। त्यस्तै, सोही ठाउँका २८ वर्षीय नमराज चापागाईँलाई पनि सवारी ज्यान कसुरकै अर्को मुद्दामा १५ दिन कैद सजाय सुनाइएको थियो।
यसैगरी लागू औषध खैरो हेरोइनको मुद्दामा लम्की चुहा–३ की ३१ वर्षीया दिपा कुमारी विष्ट (साउँद) लाई २ महिना २६ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ परेका तीनै जनालाई अदालतको आदेशअनुसार सजाय कार्यान्वयनका लागि कारागार पठाइएको छ।