काठमाडौं, असार ३२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो ३:३० बजे पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार, वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना हुने पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिनेछ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिसोधस्वरूप कारबाही भइरहेको भन्दै रास्वपाले केही दिनयता हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ। सो अभियानका प्रगति, उद्देश्य र सन्देशबारे पनि पत्रकार सम्मेलनमा जानकारी दिइनेछ।
त्यसैगरी, प्रतिनिधि सभा बैठकको बहिष्कार, रुपन्देही–३ मा आगामी उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया, पार्टीको आगामी रणनीति लगायतका विषयमा समेत पत्रकार सम्मेलनमा प्रकाश पारिने प्रवक्ता झाले जानकारी दिए।
रास्वपा पछिल्लो समय संसद् र सडक दुवै माध्यमबाट सशक्त विरोधमा उत्रेको छ। पार्टी नेतृत्वले पत्रकार सम्मेलनलाई सार्वजनिक दबाब सृजना गर्ने अवसरका रूपमा लिएको देखिन्छ।