सुर्खेत — काँक्रेविहार उच्च अदालतको फैसलापछि बाँकेको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्मको १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको कामले गति लिएको छ।
मुख्यमन्त्री यामलाल कँडेलका अनुसार बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर र वडा नं ४ बानियाँभारमा स्थानीय अवरोधका कारण रोकिएको काम अब अदालतको निर्णयपछि हटेको छ। यससँगै लाइन विस्तार सहज भएको हो।
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तार आयोजना प्रमुख रवि चौधरीका अनुसार परियोजना छ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनामा रहेको विवाद पनि समाधान भइसकेको छ।
करिब ७० करोड रुपैयाँ लागतको यो आयोजनामा हालसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ।
हालसम्म पाँच हजार रूख काटिएको छ भने अझै पाँच हजार पाँच सय रूख काट्नुपर्नेछ।
चौधरीका अनुसार एक सय ५६ वटा फाउन्डेसन निर्माण भइसकेका छन् र अब बाँकी छ वटा फाउन्डेसन बनाइनेछ।
त्यस्तै, ४० किलोमिटर लामो प्रसारण तार तानिएको छ भने अब १२ किलोमिटर तार तान्न बाँकी रहेको उनले जानकारी दिए।
यो आयोजनाले कर्णाली प्रदेशमा विद्युत आपूर्ति सुदृढ गर्ने र ऊर्जा क्षेत्रमा दीर्घकालीन असर पार्ने विश्वास गरिएको छ।