बैतडी – साउन महिनाको अन्तिम सोमबार अर्थात् साउन २६ गते बैतडीको देवलहाटस्थित सहस्त्रलिङ्ग धाममा रुद्राभिषेक पूजाआजा तथा मेला आयोजना गरिने भएको छ। दशरथचन्द नगरपालिका–४ मा पर्ने यो धार्मिक स्थलमा हरेक वर्ष साउनको द्वितीय सोमबार विशेष पूजाआजा, भजन, कीर्तन र आरती कार्यक्रम आयोजना गरिन्छ।
सहस्त्रलिङ्ग क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै शक्तिको प्रतीकका रूपमा चिनिन्छ। धार्मिक, सांस्कृतिक, ऐतिहासिक र भौतिक पक्षसँगै यस क्षेत्रको समग्र विकासका लागि यो धार्मिक अनुष्ठान गरिन लागेको हो।
धाममा रहेको कलात्मक शिवलिङ्ग विशेष आकर्षणको केन्द्र हो। देवलहरुदेखि केही पर रहेको पानी खाने कुवा नजिकै प्रतिस्थापित यो लिङ्गको परिधि १.९० मिटर रहेको छ भने लिङ्गको भाग मात्र ५० से.मी. र पीठिकादेखि माथिसम्मको उचाइ २६ से.मी. रहेको छ। लिङ्गमा पन्ध्र वटा तेस्रो रेखामा स-साना लिङ्गहरू क्रमबद्ध रूपमा कुँदिएको पाइन्छ, जसलाई पाण्डवहरूले भगवान् शिवका १००८ स्वरूपहरूको प्रतीकस्वरूप निर्माण गरेको जनविश्वास छ।
स्थानीयहरूका अनुसार प्रारम्भमा यो लिङ्ग सातवटा देवलहरुमध्ये कुनै एकमा प्रतिस्थापित गरिएको हुनसक्ने अनुमान गरिन्छ, यद्यपि यसको स्थानान्तरण कहिले र कसले गरेको भन्नेबारे हालसम्म ठोस ऐतिहासिक प्रमाण भने भेटिएको छैन।
साउन महिनाको अन्तिम सोमबारका दिन सहस्त्रलिङ्ग धाममा हुने पूजाआजा र मेला धार्मिक श्रद्धा र आस्थाको केन्द्र बन्ने गरेको छ। मेलामा बैतडीसहित आसपासका जिल्लाबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू सहभागी हुने अपेक्षा गरिएको छ।