काठमाडौं — अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ वटा प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ९ बजे अद्यावधिक विवरण सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो ।
प्रहरीको अनुसार पूर्वी नेपालका संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक पूर्णरूपमा बन्द छन् । यस्तै गण्डकी प्रदेश अन्तर्गत नवलपरासी पूर्वको कालिगण्डकी कोरिडोर, लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्ग र कर्णाली प्रदेशको रुकुम पश्चिममा पर्ने जाजरकोट–डोल्पा भेरी कोरिडोर पनि पूर्णरूपमा अवरुद्ध भएको छ ।
प्रहरीले जनाएअनुसार यी सडक खण्डहरूमा पहिरो तथा बाढीका कारण सवारी सञ्चालन ठप्प भएको छ । साथै थप पाँचवटा सडक एकतर्फीरूपमा मात्र सञ्चालनमा रहेको प्रहरीको भनाइ छ ।
नेपाल प्रहरीले सडक प्रयोग गर्नुअघि सम्बन्धित क्षेत्रको ट्राफिक प्रहरी कार्यालय वा स्थानीय प्रशासनसँग सम्पर्क गरी जानकारी लिन यात्रुहरूलाई अनुरोध गरेको छ ।
