कैलाली — कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा एक किशोरीको चक्कु प्रहार गरी हत्या गरिएको छ। हत्या हुनेमा बर्दगोरिया–३ की १७ वर्षीया याचना सेजवाल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार बिहान १० बजे राजधानी सेकुवा एण्ड म:म सेन्टरमा कार्यरत याचना सेजवालमाथि सोही ठाउँमा काम गर्ने ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएकी सेजवाललाई तत्काल धनगढीस्थित निसर्ग अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए।
हत्या आरोपित साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। याचनाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।