मकवानपुर — मकवानपुरगढी गाउँपालिका–५ बुङदोलमा श्रीमतीको हत्या अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ४५ वर्षीय मानबहादुर शिवभक्तिले आफ्नी ४० वर्षीया श्रीमती दुर्गालक्ष्मी शिवभक्तिको घाँटी थिचेर हत्या गरेका हुन्।
प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घरमा कोही नभएको मौका छोपी श्रीमानले घाँटी थिचेर हत्या गरेका थिए। दुर्गालक्ष्मी पक्षघातका कारण हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन्।
हत्या पछि झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएको र त्यसपछि प्रहरीको सम्पर्कमा आएका मानबहादुरले तनावकै कारण हत्या गरेको बयान दिएका छन्।
शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।