सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत कुनै पनि अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन्।
बालुवाटार निकट स्रोतका अनुसार उनले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधनलगायत सुविधा नलिने स्पष्ट सर्त राखेर मात्रै मन्त्री पद स्वीकार गरेका हुन्। स्रोतले भन्यो तलब बाहेक अरु केही पनि सुविधा लिँदिनँ नामका अगाडि ‘माननीय’ लेख्न पाइँदैन भन्ने शर्त राख्नुभएको थियो। त्यसमा हाम्रो के नै विमति हुन्छ र ?
खनालले यसअघि पनि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका आर्थिक सल्लाहकार रहँदा कुनै सरकारी सेवा–सुविधा लिएका थिएनन्। हालै उनी सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा समेत सक्रिय थिए।
सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको पक्षमा निरन्तर वकालत गर्दै आएका खनाल इमानदार र कर्मठ छविका पूर्वसचिवका रूपमा चिनिन्छन्।














