काठमाडौँ – काठमाडौँ महानगरपालिका-२९ इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने प्रयासमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका-९ बोडेका ३० वर्षीय विकेश राजवाहक, काठमाडौँ डल्लुका ३४ वर्षीय अरुण भुजेल र ललितपुर महालक्ष्मी नगरपालिका-६ का हरिकृष्ण महर्जन रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं को टोलीले राजवाहक र भुजेललाई पक्राउ गरेको हो भने महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले गत वैशाख १७ गते इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुटपाटको प्रयास गरेका थिए। सो क्रममा पसलमा रहेकी एक महिलाले साहसिक प्रतिकार गरेपछि उनीहरू भाग्न बाध्य भएका थिए। उक्त घटना सम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
प्रहरी अनुसन्धानबाट यसै समूहले यसअघि पुस २१ गते काठमाडौँ–२५ मांसान गल्लीस्थित एक होलसेल पसलमा पनि पेस्तोल देखाउँदै लुटपाट गरेको खुलेको छ। उक्त घटनामा २ तोलाको सुनको सिक्री, नगद ४ लाख रुपैयाँ, दुई थान मोबाइल र सीसी क्यामेरा लुटिएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूबाट एक थान पेस्तोल, म्यागजिन, एक थान गोली, नक तथा घटनामा प्रयोग भएका कपडा र स्कुटर समेत बरामद गरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













