बैतडी – ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बैतडीस्थित भगवती माता निङ्गलासैनी मन्दिर परिसरमा यस वर्ष पनि महाअष्टमीको अवसरमा विशेष मेला लाग्ने भएको छ।
हरेक वर्ष आश्विन शुक्ल अष्टमीका दिन यहाँ विशेष पूजाआजा तथा बलि चढाउने परम्परा अनुसार भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ। परापूर्वकालदेखि चलिआएको परम्परा अनुसार लाबड परिवारले हरेक वर्ष मन्दिरमा राँगो (काला खाम) चढाउँदै आएको छ। दशैंको फूलपातीको दिन विशेष विधिअनुसार सो परिवारका तर्फबाट मुख्य राँगो चढाइने चलन रहिआएको छ।
स्थानीयका अनुसार सोही दिन मन्दिर परिसरमा रहेका सबै खाम (राँगा) खोल्ने र भक्तजनलाई पूजाका लागि बाध्ने अवसर दिने परम्परा छ। यस वर्षका लागि बलि चढाउन राँगो तयारी भइसकेको लाबड परिवारले जनाएको छ।
महाअष्टमीको दिन निङ्गलासैनी भगवतीको दर्शन तथा पूजाका लागि दशौं हजार भक्तजन नेपाल मात्र नभई छिमेकी भारतका विभिन्न स्थानबाट समेत आउने गर्छन्। धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामूहिक श्रद्धाको प्रतीकका रूपमा यो मेला बैतडी जिल्लाको प्रमुख आकर्षण मानिन्छ।













