बैतडी पाटन–४ का आदरणीय गुरु मदन शास्त्री हाल झलारी–कलुवापुरमा बस्दै आउनु भएको छ। उहाँ विगत लामो समयदेखि धर्म–कर्म र कर्मकाण्डमा संलग्न रहँदै आउनुभएको छ। पहाड बैतडीका मूल निवासी शास्त्री हाल गलोरमा रहँदै नित्य पूजा–पाठ, रुद्रिपाठ, स्वस्तिवाचन, दुर्गा सप्तसती, गृहप्रवेश, लघुरुद्रिपाठ, विवाह, ब्रतबन्ध, सत्यनारायण कथा, नवग्रह शान्ति हवन, सतचण्डीपाठ, श्रीमद्भागवत, शिवपुराण, देवीभागवत लगायतका धार्मिक कर्मकाण्ड गर्दै आउनु भएको छ।

विशेषत उहाँले दलित र गैरदलित दुबै समुदायका घर–घरमा पुगेर धार्मिक सेवा पुर्याउने कार्य निरन्तर गर्दै आउनु भएको छ। गुरु शास्त्रीका अनुसार धर्म जात वा समुदायले बाँडिने विषय होइन आचरण र श्रद्धाले धर्म जीवित रहन्छ।

पाटन–६ लामाखेतका धर्मे कोलीका छोरा रजनी कोलीको घरदेखि सुरु भएको यो धार्मिक कर्मकाण्डको यात्रा अहिले तीन वर्षदेखि निरन्तर सञ्चालनमा छ।
यस विषयमा संस्कारशिरोमणि ज्योतिष आचार्य गणेशप्रसाद पन्त (पञ्चाङ्गकार) ले दैलेख कर्णाली टेलिभिजनलाई जानकारी दिँदै भन्नुभयो गुरु मदन शास्त्रीजस्ता विद्वान् पुरोहितहरूले दलित बस्तीमा पुगेर पूजा–पाठ तथा धार्मिक सेवा गर्नु समाजमा धार्मिक समानता र समरसता फैलाउने उदाहरणीय कार्य हो। यस्तो कर्मले समाजमा सद्भाव र एकताको भावना बलियो बनाउँछ।

यसैबीच के यस थलो फाउन्डेसनका चेयरम्यान तथा डाइरेक्टर रजनी कोली ले पनि गुरु शास्त्रीको कार्यप्रति आभार व्यक्त गर्दै भन्नुभयो गुरु शास्त्रीले हरेक वर्ष हाम्रो समुदायमा निरन्तर धर्मकर्म गर्दै आउनु भएको छ जसले हाम्रो बस्तीमा धार्मिक चेतना र विश्वास बढाएको छ।
गुरु मदन शास्त्रीको यो प्रयासले दलित र गैरदलित समुदायबीच धार्मिक एकता र सामाजिक समरसताको सशक्त सन्देश दिएको छ।














