डडेल्धुरा कारागारबाट भागेका ८० जना कैदीबन्दी पक्राउ परेका छन्। जेन जी आन्दोलनका क्रममा अदालतमा भएको आगजनी र तोडफोडपछि ८५ जना कैदीबन्दी फरार भएका थिए।
कारागारका प्रशासक सन्तोषकुमार भट्टका अनुसार तीमध्ये ८० जना पक्राउ परेका छन् भने ५ जना अझै फरार रहेका छन्।
भदौ २५ गते बिहान कैदीबन्दीहरूले आफ्ना सरसामानमा आगो लगाई कारागारको ढोका फोडेर सामूहिक रूपमा फरार भएका थिए। त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले देशका विभिन्न ठाउँबाट धेरैजना फरार कैदीलाई पक्राउ गरेको थियो।
१२७ जना कैदीबन्दी रहेको कारागारबाट ८५ जना भागेका थिए भने अहिले १२२ जना कैदीबन्दी पुनः कारागारमा राखिएको प्रशासक भट्टले जानकारी दिए।
फरार पाँच जनामध्ये चार जना जबरजस्ती करणीसम्बन्धी र एक जना कर्तव्यज्यान मुद्दाका कैदी हुन्। जबरजस्ती करणी मुद्दाका दुई जनाको ठेगाना बैतडी, एक–एक जनाको डडेल्धुरा र डोटी रहेको बताइएको छ। कर्तव्यज्यान मुद्दाका फरार कैदी डडेल्धुराको परशुराम नगरपालिका–५ का हुन्।
त्यसैगरी हाडनाता जबरजस्ती करणी मुद्दाका फरार कैदी डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का रहेका छन् भने अन्य फरारहरू बैतडीको पाटन नगरपालिका–८ सिगास गाउँपालिका–७ र डोटीको जोरायल गाउँपालिका–१ का रहेको कारागार प्रशासनले जनाएको छ।
बाँकी फरार कैदीहरूको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।














