कैलालीमा प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका-१० का राम मिलन रानाको घरमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाको आधारमा गरिएको घर तलासीका क्रममा उनकी श्रीमती २० वर्षीया द्रोपती राना र भाइ १७ वर्षीय महेश रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
यस्तै, टीकापुर नगरपालिका-९ खक्रोलाबाट बर्दियाको राजापुर नगरपालिका-४ घुम्नाका २१ वर्षीय राजेश थारु र सोही वडाको संघर्षनगरका २३ वर्षीय इन्द्रबहादुर थारु पनि लागूऔषधसहित पक्राउ परेका छन्। सँगै हिँडिरहेको अवस्थामा शङ्का लागेपछि चेकजाँच गर्दा उनीहरूको साथबाट २ ग्राम ९०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, टीकापुर नगरपालिका-९ खक्रोलाबाटै लम्किचुहा नगरपालिका-४ कौवापुरका २६ वर्षीय सुनिल मल्ललाई पनि लागूऔषधसहित पक्राउ गरिएको छ। उनले चलाएको सुप प्र ०१-०१० प ८१३५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सिटभित्र लुकाइराखिएको २ ग्राम ९८० मिलिग्राम खैरो हिरोइन फेला परेको प्रदेश प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ।
पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














