टिकटकमा एकअर्काको धर्म-संस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरिएको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।
धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। एक उच्च सुरक्षा अधिकृतका अनुसार ‘संवेदनशील परिस्थिति’ का कारण सुरक्षा व्यवस्था कडा पारिएको हो।
केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरूले टिकटकमा हिन्दुस्तानको नाम लिँदै भिडियो पोस्ट गरेका थिए। धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको सामग्री भएको भन्दै स्थानीय अगुवाहरूले दुवैलाई प्रहरीको जिम्मा लगाएका थिए।
इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला उनीहरू पक्राउ गरिएको भन्दै केही युवाहरू आक्रोशित बने। त्यसैक्रममा एक मस्जिदमा आक्रमणसमेत भएको थियो। आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए।
उक्त घटनालाई लिएर पर्साको वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन भइरहेको छ। सुरक्षा निकायले सम्भावित अप्रिय घटना रोक्न निगरानी बढाएको र शान्ति–सुरक्षामा कुनै कमी नआउने जनाएको छ।













