कञ्चनपुर – आज बिहान करिब ६ः३० बजे महेन्द्र राजमार्ग अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुर अगाडि सडक छेउमा रहेको सिसमको रूख अचानक ढल्दा राजमार्ग अवरुद्ध भएको थियो।
रूख ढलेपछि सवारी आवागमन प्रभावित बनेको थियो। सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरले तत्काल आवश्यक समन्वय गरी उद्धार तथा व्यवस्थापन कार्य अघि बढाएको थियो।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, नेपाल विद्युत प्राधिकरण तथा वन डिभिजन कार्यालय महेन्द्रनगरको संयुक्त सक्रियतामा ढलेको रूख हटाई सडकको आवश्यक व्यवस्थापन गरिएको थियो। संयुक्त टोलीको प्रयासपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ भने सवारी आवागमनसमेत सहज रूपमा सुचारु भएको प्रहरीले जनाएको छ।
सम्बन्धित निकायहरूको समन्वय र सक्रियताका कारण छोटो समयमै राजमार्ग सञ्चालनमा ल्याउन सफल भएको स्थानीयवासीले बताएका छन्।












