पछिल्लो २४ घण्टामा देशका विभिन्न भागबाट लागूपदार्थसहित २३ जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, ललितपुर, झापा, कैलाली, कञ्चनपुर, सप्तरी, कास्की, स्याङ्जा, सुनसरी र मकवानपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्। त्यस्तै, झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परे। कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट दुई जना, कैलालीको धनगढी उपमहानगरपालिका–२ र १४ (खुटिया टोल) बाट दुई/दुई जना गरी चार जना पक्राउ परेका छन्।
सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौनाबाट २ किलो २५ ग्राम गाँजासहित रामकुमार साह नामक एक जना पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–१ इमाडोलबाट दुई जना, पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्कबाट एक जना र स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ किरात चोकबाट सात जना पक्राउ परेका छन् भने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ आदामारबाट एक जना पक्राउ परेका छन्।पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।