बैतडी जिल्ला पाटन नगरपालिका–६ स्थायी घर भई विगत २२ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आउनुभएकी श्री दमन्ति बिष्टले परम्परागत धार्मिक एवं सांस्कृतिक सामग्री उत्पादनमार्फत शुप संस्कृतिको संरक्षण गर्ने अभियान सुरु गर्नुभएको छ।

धुप, गलैंचा, क्यान्ड लगायतका सामग्री निर्माणमा विशेष दख्खल राख्नुभएकी बिष्ट पछिल्लो समय ‘लक्ष बत्ति’ र पाँच प्रकारका दुधागा दोरक उत्पादनमा केन्द्रित हुनु भएको छ। शास्त्रीय विधिअनुसार तयार गरिने यी सामग्रीहरू नेपाली हिन्दू धर्मावलम्बीहरूका लागि विशेष धार्मिक महत्व राख्दछन्।
दमन्ति बिष्टले बनाउने पाँच प्रकारका दोरकमा ‘लक्ष बत्ति दोरक’, ‘शान्ति दुधागा दोरक’, ‘सिद्धिदात्री दोरक’, ‘सुगन्धित अठेवालि दोरक’ र ‘ध्यान साधन दोरक’ विशेषरूपमा लोकप्रिय छन्।
धार्मिक पूजामा आवश्यक पर्ने फाग, सगुन, अठेवालि आदि सामग्रीको पनि उहाँलाई गहिरो ज्ञान छ। उहाँको दाबीअनुसार यी सबै सामग्रीहरू शास्त्रअनुसार विधिपूर्वक तयार गरिन्छन् र त्यसैअनुसार प्रयोग गर्दा बढी फलदायी हुने विश्वास गरिएको छ।

देशैभरि आफ्नो संस्कार र संस्कृति जोगाउनुपर्छ भन्ने उद्देश्यका साथ उहाँले यो अभियान सुरु गर्नुभएको हो। काठमाडौंको व्यस्त जीवनशैलीबीच समेत दमन्ति बिष्टले परम्परागत ज्ञान र सीपलाई व्यावसायिक रूपमा अघि बढाउँदै, नयाँ पुस्तालाई समेत यसको महत्व बुझाउँदै हुनुहुन्छ।