काठमाडौं — नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एकै व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न सरकारलाई आग्रह गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै शर्माले ऊर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने खतरा मात्रै होइन, समृद्ध नेपालको सपना पनि अधुरो रहने चेतावनी दिए।
उनले एक व्यक्तिका नाममा दर्जनौं परियोजनाको लाइसेन्स दिनाले वास्तविक लगानीकर्ता योजना पाउन नसक्ने अवस्था सिर्जना भएको भन्दै भने अब म आफैं खोज्छु कसलाई लाइसेन्स दिनुभएको छ लगानी गर्नसक्नेलाई कि बिक्री गर्नेलाई?
शर्माले खोला दर्ता गराएर योजना बेच्ने प्रवृत्तिलाई ‘खोला बेच्ने’ मानसिकता भनेका छन्। उनले ऊर्जा मन्त्री हुँदा त्यस्तो प्रवृत्ति रोकेको स्मरण गराउँदै आज फेरि दर्जनौं परियोजना केही व्यक्ति र कम्पनीको नियन्त्रणमा रहेको उल्लेख गरे।
उनले विकासकर्ताहरूले योजना नपाउनु र क्षमता नहुनेलाई लाइसेन्स पाउनु गलत भएको बताए। यस्तो अवस्थाको अन्त्यका लागि नीतिगत रुपमा हस्तक्षेप आवश्यक रहेको उनको भनाइ थियो।
देश विद्युत् खरिद गरेर होइन विद्युतको खपत गरेर समृद्ध हुन्छ भन्दै शर्माले जलाशययुक्त आयोजना सरकारले नै अगाडि बढाउनुपर्ने धारणा राखे। ढिलो गरेर आयोजना थाल्दा त्यसको अर्थ नै नरहने उनले तर्क गरे।
उनको भनाइमा खोला बेच्ने प्रथाको अन्त्य र लगानी गर्नसक्ने व्यवसायीलाई मात्रै योजना दिने व्यवस्था नगरेसम्म ऊर्जा क्षेत्रमा सुधार आउन सक्दैन।