भारतको नयाँ दिल्लीस्थित एक घरबाट धनमाल लुटेर नेपाल फर्किएका ६ जना नेपालीलाई प्रहरीले कोहलपुरबाट पक्राउ गरेको छ। पक्राउ परेका सबै जना कालिकोट जिल्लाका हुन्।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पक्राउ परेकाहरूको साथबाट १५ तोला सुनका गरगहना (लालपत्थरसहित) र नगद ७ लाख ८७ हजार रुपैयाँ बरामद गरिएको छ। पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ की २८ वर्षीया सरिता शाही, रासकोट नगरपालिका–१ का ४२ वर्षीय मनबहादुर शाही र तेजबहादुर शाही, सान्नी त्रिवेणी गाउँपालिका–८ का १८ वर्षीय पङ्कज केसी, ३८ वर्षीया अनिता खत्री र ४५ वर्षीय प्रेमबहादुर खत्री रहेका छन्।
प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालका अनुसार उनीहरूलाई कोहलपुर नगरपालिका–११ स्थित होटल न्यु कालिकोटेबाट नियन्त्रणमा लिइएको हो। उनीहरू भारतको दिल्लीमा रहेको एक घरबाट सुन र नगद चोरी गरेर नेपाल फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेकी सरिता शाही करिब एक वर्षअघि उक्त घरमा काम गर्ने नाममा दिल्ली पुगेकी थिइन्। घरका सदस्यहरूको विश्वास जितेपछि उनले अन्य पाँचजनालाई कालिकोटबाट बोलाएकी थिइन्। योजना अनुसार घरमा कोही नभएको मौका छोपेर सुनका गरगहना र नगद लिएर नेपाल फर्किएका थिए।
प्रहरी निरीक्षक रेशमलाल पौडेलको नेतृत्वमा खटिएको टोलीले होटलबाट उनीहरूलाई पक्राउ गरेको हो। अहिले बाँके जिल्ला अदालतले उनीहरूलाई अनुसन्धानका लागि सात दिनको म्याद दिएर थुनामा पठाएको छ।