बैतडी – सुर्नया गाउँपालिकाले राष्ट्रिय परिचयपत्र विवरण दर्ता शिविर सञ्चालन गरेको छ । गाउँपालिका भित्रका तीन स्थानमा सञ्चालन हुने गरी बिहीबारदेखि शिविर सुरु भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले जारी गरेको सूचनाअनुसार बिहीबार र शुक्रबार गाउँपालिका कार्यालयमै शिविर सञ्चालन हुँदैछ । यस शिविरमार्फत वडा नं. ५ लगायत अन्य वडाका नागरिकले सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।
यस्तै भाद्र २१ गते शनिबार र २२ गते आइतबार वडा नं. ६ को कार्यालय शंकरपुरमा शिविर सञ्चालन गरिनेछ । यस अवसरमा वडा नं. ६, ७ र ८ का वडाबासीले सेवा पाउनेछन् ।
त्यसैगरी भाद्र २३ गते सोमबार र २४ गते मंगलबार वडा नं. ४ को कार्यालय फाटिगडामा शिविर सञ्चालन गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत धन बहादुर चन्दले जानकारी दिए । यो शिविरमा वडा नं. ३ र ४ का वडाबासीले सेवा पाउनेछन् ।
चन्दका अनुसार राष्ट्रिय परिचयपत्र बनाउन छुटेका ज्येष्ठ नागरिक, अशक्त तथा असहाय व्यक्तिहरूलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा गाउँपालिकामै शिविर सञ्चालन गरिएको हो ।