प्रतिनिधिसभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई संसदीय सुनुवाइ समितिको सभापति बनाइएकोप्रति आपत्ति जनाएको छ।
रास्वपाले सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाउँदै उच्च जिम्मेवारीमा नियुक्ति गर्दा नैतिक मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरेको छ। खतिवडा यसअघि प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुँदा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा दोषी देखिएका थिए। त्यसपछि उनले पदबाट राजीनामा दिएका थिए।
उनीमाथि सो आरोप रहेकै बेला फेरि अर्को समितिको सभापति बनाइएको भन्दै रास्वपाले संसद्को नैतिक आचरणमाथि प्रश्न उठाएको छ। रास्वपाले भनिएको छ, “विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुनः उच्च ओहदामा नियुक्त गर्ने कार्यले संसद्को गरिमा मात्र नभई लोकतान्त्रिक मूल्य र मान्यतामै आघात पुगेको छ।”
शुक्रबार खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन भएका हुन्।