काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ बिन्दबासिनी कंसाकारले सांसदको हैसियत सकिए पनि जनताको सेवामा निरन्तर लागिरहने प्रतिवद्धता जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेकी छन् सांसदको हैसियत सकिएको भए पनि सेवकको जिम्मेवारी सकिँदैन। फरक बाटो, फरक ढंग भए पनि देश र जनताको सेवामा निरन्तर लागिरहने मेरो संकल्प अटल छ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधि सभा विघटन गरेसँगै कंसाकारको सांसद पद समाप्त भएको हो। त्यसपछि उनले धन्यवाद ज्ञापन गर्दै सेवामा निरन्तर रहने अठोट सार्वजनिक गरेकी हुन्।
सांसद पदमा रहँदा ठूलो परिवर्तन ल्याउन नसकेको भए पनि कसैको अनुचित स्वार्थमा नलागेको, भ्रष्टाचारमा संलग्न नभएको र जनताको आवाज बुलन्द गर्न सकेकोमा आत्मसन्तोष रहेको उनले बताइन्।
तेजाब आक्रमणकी पीडितका रूपमा समाजमा पुनः बाँच्ने संघर्ष गरेको अनुभवबाट राजनीतिमा पनि सहनशीलता र दृढताका साथ अघि बढेको उनले स्मरण गरिन्। पीडामा परेका, अन्याय सहनुपरेका र आवाज दबाइएका नागरिकको पक्षमा बोल्नु आफ्नो धर्म ठानेर संसद्मा आवाज उठाएको उल्लेख गरिन्।
युवा पुस्ता, विशेषगरी जेनजीले देखाएको आँट र दृढता इतिहासमा कोरिने भन्दै उनले नागरिकले मतदान, अधिकार र प्रणाली सुधारतर्फ चासो दिन थालेकोले भविष्यलाई आशाको उज्यालोतर्फ डोर्याएको बताएकी छन्।














