बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले आज (बुधबार) उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका छन्। उनले यसअघि नै गत २४ भदौमा सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए। तर कानुनी प्रक्रिया पुरा नभएकाले औपचारिक रूपमा आज मात्र राजीनामा बुझाएको उल्लेख गरेका छन्।
पाठकले आफ्नो पत्रमा लेखेका छन् नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम सभामुख पदबाट राजीनामा दिएको छु। उनले राष्ट्र शोकमा रहेको बेला जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बसिरहन अनुचित लागेकाले राजीनामा दिएको स्पष्ट पारेका छन्।
२४ भदौमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले सामूहिक राजीनामाको घोषणा गरेसँगै पाठकले पनि सभामुख पद छाड्ने घोषणा गरेका थिए। त्यतिबेला उनी काठमाडौंमै रहेका थिए।
जेनजी आन्दोलन चर्किँदै जाँदा तोडफोड र आगजनीका कारण बागमती प्रदेशसभाको नयाँ र पुरानो दुवै भवनसहित विद्युतीय उपकरण जलेर ध्वस्त भएका थिए। पाठक राप्रपाबाट निर्वाचित भएर बागमती प्रदेशसभाको सभामुख बनेका थिए।














