काठमाडौं – जेनजी युवाको आन्दोलनमा ज्यान गुमाएकाहरुको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुँदैछ । मृतकका परिवार र आफन्तले शवयात्रा निकाल्ने तयारी गरेका छन् । शवयात्रामा सहभागी भएकाहरुले मृतकका फोटो र राष्ट्रिय झण्डा बोकेका छन् भने उनीहरु शोकाकुल मुद्रामा देखिएका छन् । कतिपयले नि:सन्तानलाई के थाहा जेनजीको सपना ? भन्ने लेखिएको कपडाले शरीर ढाकेका छन् ।
सरकारले आन्दोलनमा मृत्यु हुनेहरुलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि मृतकका परिवार अन्त्येष्टि गर्न सहमत भएका हुन् ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा ७२ जनाको ज्यान गएको थियो । मृत्यु हुनेमध्ये धेरैजसो गोली लागेका थिए भने केही शव जलाइएको अवस्थामा भेटिएका थिए ।
शवहरु संकलन गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । त्यहाँ पोष्टमार्टम र पहिचानपछि शव आफन्तको जिम्मा लगाइँदै आएको छ । केही शव पहिल्यै बुझेर अन्त्येष्टि गरिएका छन् भने आज रसिक खतिवडा लगायतका शवयात्रासहित अन्त्येष्टि गरिँदैछ ।














