नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । बिहीबार सुरु भएको बैठक शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन परिमार्जनसहित पारित गर्दै समापन भएको माओवादी नेता रहिश साहले जानकारी दिएका छन् ।
बैठकमा प्रचण्डले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका थिए जसलाई बैठकले स्वीकृत गरेको छ । यससँगै माओवादीको केन्द्रीय समिति अब महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ ।
आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव पनि पारित भएको छ । यद्यपि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा निर्वाचन (फागुन २१) पछि मात्र महाधिवेशन गर्नु उपयुक्त हुने सुझाव दिएका थिए ।
नेतृत्वको प्रसङ्गमा अध्यक्ष प्रचण्डले पद छोड्ने र कार्यवाहक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका थिए तर यो अस्वीकृत भएको छ । उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव गरेका थिए तर उनको प्रस्ताव पनि अस्वीकृत भएको छ ।
तीनवटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत भएपछि प्रचण्डले जवाफ दिँदै उठेका विषयलाई गम्भीरतापूर्वक अघि बढाउने बताएका छन् ।
यस्तै बैठकमा उठेका प्रश्नका आधारमा प्रचण्डले माओवादी नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । उनका अनुसार सम्पत्ति छानबिन आयोग गठन गरेर सबै नेताहरूको एकाघरको सम्पत्ति सार्वजनिक गरिनेछ ।
सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहको निष्कर्ष प्रस्तुत गर्दै हरि ज्ञवाली अखण्डले पार्टीका सबै नेताहरू र पार्टीकै सम्पत्ति छानबिन गर्न आयोग गठन गर्ने प्रस्ताव राखेका थिए । त्यसैको जवाफमा प्रचण्डले सम्पत्ति सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका हुन् ।














