काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दशैं–तिहारमा समेत तलब नपाएका शिक्षकको गुनासो आएपछि तत्काल तलब निकासा गर्न निर्देशन दिएका छन् ।
मन्त्री पुनले शिक्षा मन्त्रालयबाट तलबका लागि रकम पालिकामा पठाइसकिएको भए पनि कतिपय पालिका, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा नगरेको गुनासो आएको बताए ।
उनले भने मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं–तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही शिक्षकहरुले गुनासो गर्नुभएको छ। भोलिसम्ममा तलब नदिने पालिकामाथि नियमानुसार कारबाही गरिनेछ।
त्यस्तै विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले समेत नाजायज रूपमा तलब रोक्ने गरेको गुनासो आएको भन्दै मन्त्री पुनले यस्तो कार्यमा संलग्न प्रधानाध्यापकलाई पनि कारबाही गर्ने चेतावनी दिएका छन् ।
दशैं–तिहार जस्तो चाडपर्वमा शिक्षकले समयमै तलब पाउनुपर्ने उल्लेख गर्दै मन्त्री पुनले यस विषयमा कुनै पनि ढिलासुस्ती सह्य नहुने स्पष्ट पारेका छन् ।














