कञ्चनपुर – हिन्दु धर्मावलम्बीको महान् चाड दसैं नजिकिएसँगै डडेल्धुराबाट दुई सयभन्दा बढी खसीबोका बिक्रीका लागि महेन्द्रनगर ल्याइएका छन् ।
डडेल्धुराको परशुराम नगरपालिका–८ का ११ जना स्थानीयले पालिएका र किनिएका खसीबोका लिएर महेन्द्रनगर पुगेका हुन् । परशुराम–८ जोगबुडाका जयबहादुर बोहरा करिब ४० वटा खसीबोकासहित दुई दिनको पैदल यात्रापछि शनिबार महेन्द्रनगर बजार पुगेका छन् ।
बोहराले आफ्नो गाउँमा पालेका र अन्य स्थानबाट किनेर ल्याएका खसीबोका दसैंको मागलाई लक्षित गरी महेन्द्रनगरमा बिक्री गर्न ल्याएको बताए । दसैंको लागि देशका विभिन्न स्थानमा खसीबोकाको बिक्री बढ्दै जाँदा महेन्द्रनगर बजारमा पनि अहिले चहलपहल देखिएको छ ।














