काठमाडौं – यातायातमन्त्री कुलमान घिसिङले तोकिएको भन्दा बढी भाडा असुल्ने यातायात व्यवसायीमाथि तत्काल कारबाही गरिने चेतावनी दिएका छन्।
चाडपर्वको अवसरमा यात्रुहरूबाट बढी भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने लगायतका गुनासा निरन्तर आइरहेको उल्लेख गर्दै मन्त्री घिसिङले यस किसिमका गैरकानुनी क्रियाकलाप तत्काल बन्द गर्न आग्रह गरेका हुन्।
उनले यात्रुलाई अनावश्यक दुःख दिने, चाडबाडलाई कमाउने अवसरका रूपमा प्रयोग गर्ने प्रवृत्ति अब सह्य नहुने स्पष्ट पारेका छन्। “स्वीकृत भाडादर भन्दा बढी असुल नगर्नुहोस्, टिकटमा कालोबजारी नगर्नुहोस्। यातायात व्यवसायीहरूले जिम्मेवार बन्नुपर्छ,” मन्त्री घिसिङको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय सम्हालिरहेका घिसिङले देशको वर्तमान विषम परिस्थितिमा सबै पक्षले आफ्नो जिम्मेवारी इमानदारीका साथ निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
उनले यात्रुहरूलाई समेत सतर्क रहन आग्रह गर्दै यदि कोही व्यवसायीले स्वीकृत भाडादर भन्दा बढी असुलेमा तुरुन्तै स्थानीय सुरक्षा निकाय वा प्रशासनलाई खबर गर्नुहोस् भनेर अपील गरेका छन्।
मन्त्री घिसिङले तोकिएको भन्दा बढी भाडा असुले तत्कालै कानूनी कारबाही हुने स्पष्ट पारेका छन्।














