काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई तीन बुँदे निर्देशन दिएका छन्।
बुधबार बसेको बैठकपछि पुनले नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट), शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसँग सम्बन्धित निर्देशनहरू सार्वजनिक गरेका हुन्।
पहिलो बुँदामा उनले नास्टमा दुई घण्टासम्म छलफल र ल्याब अवलोकन गरेको उल्लेख गर्दै भनेका छन्,
“३७ करोड बजेटमध्ये २७ करोड प्रशासनिक र १० करोड अनुसन्धान र नवप्रवर्तनमा छुट्याइएको रहेछ। नास्टलाई उच्चकोटीको अनुसन्धान केन्द्र कसरी बनाउने भन्ने सुझाव यही हप्ता भित्र दिन सबैलाई निर्देशन दिएको छु। भवन र ल्याबहरू उच्च कोटीका छन्, त्यसअनुसारको काम पनि हुनुपर्छ।”
दोस्रो निर्देशनमा पुनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई शिक्षक दरबन्दी मिलान, विद्यार्थी सङ्ख्या न्यून विद्यालयहरूको मर्ज, योग्य प्रधानाध्यापकहरूको नियुक्ति कार्यविधि तयार पार्ने, र अनलाइन सिकाइका लागि डिजिटल शैक्षिक सामग्री निर्माणमा जोड दिन निर्देशन दिएका छन्।
तेस्रो बुँदामा उनले पाठ्यक्रम विकास केन्द्रलाई सामुदायिक र संस्थागत विद्यालयहरूको पाठ्यक्रम विकासमा गम्भीर हुन, समयमै परिमार्जन र अध्यावधिक गर्न, मातृभाषामा पाठ्यपुस्तक विकास, र नैतिक, व्यावहारिक, इतिहास र संविधानसम्बन्धी शिक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।













