ओमानको अल अमिरेत क्रिकेट मैदानमा आज टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।
सुपर सिक्सको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईमाथि १ रनको रोमाञ्चक जित निकाल्दै उत्कृष्ट सुरुवात गरेको थियो। यसअघि समूह ‘बी’मा नेपालले कुवेतलाई ५८ रनले तथा जापानलाई पाँच विकेटले पराजित गर्दै अपराजित रहँदै सुपर सिक्समा प्रवेश गरेको थियो। अब नेपाल लगातार चौथो जितको खोजीमा छ।
कतारले समूह चरणमा मलेसियालाई पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको हो। यद्यपि सुपर सिक्सको पहिलो खेलमा कतार ओमानसँग ३४ रनले पराजित भएको थियो।
नेपाल र कतारबीच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भएकोमा नेपालले दुई र कतारले एक खेल जितेका छन्। सुपर सिक्समा अपराजित नेपालसँग ४ अंक छ भने कतार अंकविहीन अवस्थामा छ।
नेपालले सुपर सिक्समा कतारसँगै ओमान र सामोआसँग खेल्नेछ भने आफ्नो समूहबाटै आएको जापानसँग भने प्रतिस्पर्धा गर्ने छैन।
सुपर सिक्सको १२ खेलपछि शीर्ष तीन टोलीले सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी–२० विश्वकपमा स्थान बनाउनेछन्। नेपालले आफ्नो आगामी खेल बुधबार ओमानसँग र अन्तिम खेल शुक्रबार सामोआसँग खेल्नेछ।














