कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ मा एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षिय गौरव ऐरमाथि आइतबार राति धारिलो हतियार प्रहार गरिएको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) रणबहादुर चन्दका अनुसार ऐरसहितको युवाहरुको टोली पिकनिक मनाउन गोदावरी तिर गएका थिए । पिकनिक सकेर बाँकी साथीहरु फर्किएपनि ऐर र केही साथीहरु राति करिब ११ बजेतिर शुभम होटलमा बसेर नास्ता खान थालेका थिए ।
त्यही समयमा बाहिरबाट आएको अर्को समूहले ऐरमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी चन्दले बताए । उनका अनुसार घाउको प्रकृति हेर्दा खुकुरी प्रहार गरिएको जस्तो देखिएको छ ।
गम्भीर घाइते ऐरलाई सुरुमा धनगढीस्थित निसर्ग अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि भारत रिफर गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न आक्रमणकारीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।














