कैलालीको गोदावरी नगरपालिका–४ मा एक युवकमाथि धारिलो हतियार प्रहार गर्ने गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय गौरव ऐरमाथि आक्रमण गर्ने उक्त समूहलाई जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेकामध्ये धनगढी उपमहानगरपालिका–२ का सन्नी नेपाली सहित १० जना रहेको र उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
पुलिसका अनुसार पक्राउ परेका व्यक्तिहरू “कोब्रा सरकार” नामक ग्याङका सदस्य हुन्, जसको नेतृत्व सन्नी नेपालीले गर्दै आएका थिए।घटना गत राति करिब ११ बजेतिर गोदावरी–४ मा रहेको शुभम् होटलमा घटेको हो। होटलमा बसेर नास्ता खाइरहेका ऐरमाथि बाहिरबाट आएको समूहले धारिलो हतियारले आक्रमण गरेको थियो।
गम्भीर घाइते बनेका ऐरलाई प्रारम्भिक उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्याइए पनि अवस्था जटिल भएपछि थप उपचारका लागि भारत रिफर गरिएको छ।प्रहरीका अनुसार घटनामा संलग्न सबैलाई सीमा नजिकै नियन्त्रणमा लिइएको हो।














