जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन्। सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार कुशवाहाले सांसद विकास कोषको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफ्नै खातामा हाल्ने कार्य गरेका थिए। पूर्वगृहराज्यमन्त्री समेत रहेका उनी यसअघि पनि यही मुद्दामा पक्राउ परेर तारेखमा छुटेका थिए।
अख्तियार स्रोतका अनुसार यो पटक उनलाई विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रयोजनका लागि पक्राउ गरिएको हो। महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित कुशवाहाको घरमा अख्तियारले यसअघि १२ जेठमा छापा मारेको थियो जहाँ उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ समेत पक्राउ परेका थिए।
त्यो समयमा अनुसन्धान अधिकारीहरूले विभिन्न योजनासम्बन्धी कागजात र मोबाइल बरामद गरी डिजिटल फरेन्सिक परीक्षणका लागि पठाएका थिए। उनी यसअघि पनि २० जेठमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए।













