काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि एजेन्डामा छलफलमा प्रवेश गरेको छ। २८ असोजदेखि सुरु भएको बैठकमा पार्टीका आगामी कदम र १५औं महाधिवेशनको तयारीबारे मुख्यरूपमा बहस हुने भएको छ।
बैठकमा मंसिरभित्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने वा स्थगित गर्नुपर्ने विषयमा दुई थरी मत रहेका छन्। साथै जेनजी प्रदर्शनपछिको राजनीतिक परिस्थिति, प्रतिनिधि सभा विघटन, आगामी निर्वाचन घोषणा र त्यसका प्रभावबारे पनि छलफल हुने कार्यसूचीमा समावेश छ।
जेनजी आन्दोलनको दोस्रो दिन तोडफोड र आगजनीबाट क्षति पुगेका केन्द्रीय कार्यालयलगायतका संरचनाको पुनर्निर्माणबारे पनि बैठकले निर्णय गर्नेछ। साथै मुलुकको शान्ति–सुरक्षा स्थिति, प्राकृतिक विपद् व्यवस्थापन, कार्यसम्पादन समितिका निर्णयहरूको अनुमोदन र विविध विषयमा पनि चर्चा हुने कांग्रेसले जनाएको छ।
शेरबहादुर देउवाले २८ असोजदेखि कार्यवाहक सभापतिमा पूर्णबहादुर खड्कालाई तोकेका कारण उनको अध्यक्षतामा पहिलोपटक केन्द्रीय समिति बैठक सञ्चालन भएको हो।














