दार्चुला – कर्तव्य ज्यान मुद्दाका एक फरार कैदी दार्चुलामा पक्राउ परेका छन्। ललितपुरको नख्खु कारागारबाट फरार रहेका दार्चुला मालिकार्जुन गाउँपालिका-७ का २३ वर्षीय दिपक चन्दलाई मंगलबार सदरमुकाम नजिकैको पुलघाट क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बिहान करिब ११ बजे शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा गस्ती टोलीले चन्दलाई नियन्त्रणमा लिएको थियो। दार्चुला प्रहरीका सहप्रवक्ता देवन्द्रसिंह बुढाथोकीका अनुसार चन्दविरुद्ध २०७८ सालमा दर्ता भएको कर्तव्य ज्यान मुद्दामा २०८० पुस ११ गते जिल्ला अदालतले २५ वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।
नख्खु कारागारमा सजाय भुक्तान गरिरहेका चन्द २०८२ भदौ २४ गते देशभर चलेको जेनजी आन्दोलनका क्रममा बन्दीगृहबाट फरार भएका थिए। फरार सूचीमा रहेका उनलाई प्रहरीले पक्राउ गरी दार्चुला कारागार चलान गरेको जनाएको छ।














