ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुका अन्दाजी ४० वर्षीय दीपेन्द्र केसी तीन दिनदेखि सुमोसहित बेपत्ता रहँदा उदयपुरको कटारी-१४ पाखेमारा भीरमा मृत अवस्था भेटिएका छन्।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार सोमबार साँझ सडकबाट करिब ३०० मिटर तल क्षतिग्रस्त अवस्थामा सुमो गाडी भेटिएको थियो। सोही क्षतिग्रस्त सुमोसँगै केसीको शव फेला परेको हो। प्रहरी टोलीले मध्यराति नै भिरबाट शव उठाई कटारी अस्पतालमा पोस्टमार्टमका लागि लगेको छ।
ना १ ज ५८१२ नम्बरको सुमो लिएर केसी मंसिर १३ मा उदयपुरको ताप्ली गाउँपालिका, रुपाटार जाने भन्दै निस्किएका थिए। रुपाटारमा विवाहका लागि जन्ती जान गाडी रिजर्भ भएकाले उनी एक्लै यात्रा थालेका थिए। शनिबार राति सिन्धुलीको खुर्कोट प्रहरी बिटमा इन्ट्री गरेपछि उनी सम्पर्कविहीन बनेका थिए।
केसीले कटारी-१४ घुर्मी नजिकसम्म पुगेको जानकारी श्रीमती सुशीला कार्कीलाई गराएका थिए। त्यसपछि फोन लागेपनि नउठेपछि स्थानीय, प्रहरी तथा परिवारले खोजी गर्दै आएका थिए। खोजीका क्रममा सिद्धिचरण राजमार्गअन्तर्गत कटारी-घुर्मी सडकखण्डको पाखेभीरमा उनको शव भेटिएको हो।
प्रहरीका अनुसार रातिको १२ बजेतिर दुर्घटना भएको अनुमान छ। वरपर घर-बस्ती नभएको तथा अनकन्टार भीर भएकाले घटना तुरुन्तै थाहा नपाइएको बताइएको छ।














