नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताको पदबाट राजीनामा दिएका छन्। उनले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गर्दै आफ्नो राजीनामा बुझाएका हुन्।
हालै प्रचण्डको समर्थन त्याग्दै सांसद शर्माले जनार्दन शर्मा ‘प्रभाकर’ नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेपछि दलभित्र विवाद तीव्र बनेको थियो। त्यसपछि उनीमाथि कारबाहीको तयारी भएपछि उनले दलको नेताको भूमिकाबाट अलग हुने निर्णय गरेका हुन्। यद्यपि शर्माले सांसद पदबाट भने राजीनामा दिएका छैनन्।
माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठक अहिले वीरेन्द्रनगरमा जारी छ। बैठकले शर्मा विरुद्ध कारबाही गर्ने निर्णय लिएपछि उनले पद छोडेको एक सदस्यले जानकारी दिएका छन्।
यस घटनाले कर्णालीको प्रदेश राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।













