डडेल्धुराबाट काठमाडौँतर्फ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस लमही नगरपालिका-१, कौडियास्थित पुलबाट खोलामा खस्दा २२ जना यात्रु घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान करिब ३ बजे भएको उक्त दुर्घटनाबारे वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको हो।
प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार घाइते सबैलाई उद्धार गरी लमही अस्पतालमा उपचारका लागि लगिएको छ। तीमध्ये दुई जनाको अवस्था गम्भीर देखिएकाले बाहिर रेफर गर्नुपर्ने सम्भावना रहेको बताइएको छ।
३८ यात्रु सवार रहेको बसका चालकले प्रारम्भिक बयानमा पट्टा भाँचिएर बस अनियन्त्रित भई दुर्घटना भएको बताएका छन्। घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।













