लामो समयदेखि म्यानमारमा अलपत्र परेका ४७ जना नेपालीलाई उद्धार गरी बुधबार नेपाल फर्काइएको छ। उद्धार गरिएका मध्ये ४५ जना पुरुष र २ जना महिला रहेका छन्।
अध्यागमन विभागका प्रवक्ता टीकाराम भट्टराईका अनुसार थाइल्यान्डस्थित नेपाली दूतावासले स्थानीय निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गरेपछि उनीहरूको उद्धार सम्भव भएको हो। राम्रो तलब र आकर्षक रोजगारीको प्रलोभन देखाई उनीहरूलाई म्यानमारसम्म पुर्याइएको बताइएको छ।
आईटी कम्पनीमा काम, मासिक लाखौँ कमाइ, अफिस तथा डाटा इन्ट्री जस्ता रोजगारीका प्रस्ताव देखाएर पीडितहरूलाई भारत र दुबई हुँदै म्यानमार लगिएको थियो। धेरैजसो पीडित फेसबुक, टिकटक, टेलिग्राम, ह्वाट्सएप र अनलाइन गेम पब्जीमार्फत परिचित व्यक्तिको प्रलोभनमा परेका थिए।
थाइल्यान्डस्थित नेपाली दूतावासले सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै उनीहरूलाई सुरक्षित उद्धार गरी नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौं ल्याएको हो।














