बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन्। गत भदौ २४ गते जेनजी (GEN-Z) प्रदर्शनको क्रममा कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना अझै सम्पर्कमा नआएकाले सुरक्षा चुनौती बढ्दै गएको कारागार प्रशासनले जनाएको छ।
कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीका अनुसार प्रदर्शनको क्रममा कारागारबाट भागेका ६२ जना थुनुवा तथा कैदीबन्दीमध्ये जबर्जस्तीकरणी मुद्दाका राजेश लुहार अझै फरार रहेका छन्। पाटन नगरपालिका-३ गुजर घर भएका लुहार जिल्ला अदालतको फैसलाअनुसार जबर्जस्तीकरणी मुद्दामा १० वर्षको कैद सजाय भोगिरहेका थिए।
फरार लुहारको खोजीकार्य निरन्तर जारी रहे पनि हालसम्म उनी कुनै सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ। यस घटनाले जिल्लाको सुरक्षा व्यवस्थामा थप चुनौती सिर्जना गरेको प्रशासनको भनाइ छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै फरार कैदीबन्दीलाई यथाशीघ्र स्वेच्छिक रूपमा सम्पर्कमा आउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार यदि कैदीबन्दी स्वेच्छिक रूपमा सम्पर्कमा नआए प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ।
प्रशासनले फरार कैदीबन्दीको बारेमा कसैलाई जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई गोप्य रूपमा जानकारी गराउन समेत आग्रह गरेको छ।
सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा फरार कैदीबन्दीका कारण जिल्लामा सुरक्षा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन्।














