कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भर्चुवा बन्दुक तथा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार असार २३ गते राति ११ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, इलाका प्रहरी कार्यालय गुलरिया र इलाका प्रहरी कार्यालय रैकवार कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले कृष्णपुर नगरपालिका-९ पिपरियास्थित एक घरमा छापा मारेको थियो।
गोप्य सूचनाका आधारमा जोकराज रानाको घरमा खानतलासी गर्दा कोठाभित्र लुकाएर राखिएको एक थान भर्चुवा बन्दुक, ०.७८ ग्राम खैरो हेरोइन, ८० ग्राम गाँजा, विभिन्न कम्पनीका ८ थान टच मोबाइल र २ थान किप्याड मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा कृष्णपुर नगरपालिका-९ पिपरियाका जोकराज राना र उनकी श्रीमती जानकी रानालाई पक्राउ गरिएको छ।
प्रहरीले बरामद सामग्री नियन्त्रणमा लिई पक्राउ परेका दुवै जनामाथि लागूऔषध तथा अन्य सम्बन्धित कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले घटनाबारे जानकारी दिँदै अनुसन्धान जारी रहेको बताएका छन्।













