कैलाली — कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा प्रहरीले करिब डेढ किलो लागुऔषध चरेससहित एकै दिन ४ जनालाई पक्राउ गरेको छ।
बिहीबार राति इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका–२ स्थित बझाङ विपिन होटलबाट ३९ वर्षीय गगन बोहरालाई पक्राउ गरेको हो। उनी बझाङ छबिसपाथिभारा गाउँपालिका–७ का निवासी हुन्। बोहराको साथबाट १ किलो चरेस बरामद भएको डिएसपी रणबहादुर चन्दले जानकारी दिए।
त्यसै रात गोदावरी नगरपालिका–१, भरतपुर क्षेत्रबाट शंका लागेर जाँच गर्दा ४६९ ग्राम चरेससहित बैतडी सुर्नया गाउँपालिका–३ का २८ वर्षीय चन्द्र सिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षीय महेश बिकलाई पक्राउ गरिएको डिएसपी चन्दले बताए।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।