सिरहा — सिरहाको गोलबजार नगरपालिका–३ मा भाइ–बुहारीबीचको झगडा छुटाउन गएका एक दाइको आफ्नै भाइको खुकुरी प्रहारबाट ज्यान गएको छ।
३५ वर्षीय मोतीराम सदाको हत्या उनीभन्दा १० वर्ष कान्छा भाइ २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरी गरेका हुन्। घटना बिहीबार राति करिब ९ बजेको समयमा भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए।
डिएसपी पासवानका अनुसार श्याम र उनकी श्रीमती कौशल्या सदा बीच घरायसी विवाद भइरहेको थियो। झगडा छुट्याउन गएका मोतीराममाथि श्यामले अचानक खुकुरी प्रहार गरेका थिए। घाइते मोतीरामलाई तत्कालै लहानस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो। तर उपचारको क्रममा राति सवा ११ बजे उनको मृत्यु भयो।
हत्या पछि फरार भएका श्याम सदालाई सिरहा प्रहरीले आज बिहान औरही गाउँपालिकास्थित नेपाल–भारत सीमाक्षेत्रबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।