बैतडीको सुर्नया गाउँपालिका–५ नौघरकी १७ वर्षीया अप्सरा चन्द मृत फेला परेकी छन्। रौलेश्वर मावि रामकी बरायलमा कक्षा १२ मा अध्ययनरत चन्द आज बिहान सुर्नया नदी किनारमा शवावस्थामा भेटिएकी हुन्।
घटनास्थल नजिकै मृतकको मोबाइल फोन र चप्पल फेला परेपछि उनले नदीमा हाम फालेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टोली पुगेको छ भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।
चन्दको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ। उनको असामयिक निधनपछि गाउँ शोकमा डुबेको छ।














