राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनका तयारी र राजनीतिक वातावरणबारे छलफल गर्न सबै राजनीतिक दललाई बोलाएका छन्। राष्ट्रपतिले शुक्रबार दिउँसो ४ बजे छलफल गर्नेगरी दलहरूलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाएका हुन्।
एक मन्त्रीका अनुसार बिहीबार प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीले राष्ट्रपतिसँग भेट गरी आगामी निर्वाचनको तयारीबारे छलफल गरेका थिए। त्यसैको निरन्तरता स्वरूप राष्ट्रपति पौडेलले सबै दललाई आज छलफलका लागि आमन्त्रण गरेका हुन्।
फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री कार्कीको अनुरोधमा यो बैठक आयोजना गरिएको बताइएको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा निर्दलीय सरकार बनेको हो। कार्की नेतृत्वमा सरकार बनेपछि राष्ट्रपति पौडेलले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग क्रमशः छलफल सुरु गरेका छन्।














