आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले यूएईलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ ।
१४१ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो । यूएईका अलिशान सराफूले उत्कृष्ट प्रदर्शन गर्दै ५८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै ध्रुव पराशरले ३८ रनको योगदान दिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको चुनौतीपूर्ण योगफल प्रस्तुत गरेको थियो । नेपालका ओपनर आसिफ शेखले ४७ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेले २० रन र गुल्शन झाले अन्त्यतिर ५ बलमा १४ रन जोडे ।
सुरुवाती १० ओभरमा ७३ रनको तेज सुरुवात गरे पनि नेपालले अन्तिमतिर रनगति सुस्त पारेको थियो ।
बलिङतर्फ यूएईका जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १–१ विकेट लिए ।
यस जितसँगै नेपालले टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्स चरणमा बलियो स्थान बनाएको छ ।














