नेपालको पहिलो चरा अभयारण्य (वर्ड स्याङ्क्चुरी) घोडाघोडी सिमसार क्षेत्रमा जलपंक्षी गणना सुरु भएको छ। जैविक विविधताले अत्यन्त महत्त्वपूर्ण मानिने घोडाघोडी ताल क्षेत्रमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजदेखि गणनामा खटिएको हो। टोलीका अनुसार पुस २१ गतेसम्म जलपंक्षी गणना सञ्चालन हुनेछ।
विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आएको चरा संरक्षण नेटवर्क कैलालीले हिउँद र वर्षा गरी प्रत्येक वर्ष दुई पटक जलपंक्षी गणना गर्दै आएको छ। नेटवर्कका उपाध्यक्ष नवराज न्यूरेका अनुसार गणनापछि जलपंक्षीको अवस्था र तिनले भोगिरहेका चुनौती पहिचान गरिनेछ।
यसैबीच चरा संरक्षण नेटवर्क कैलालीका सचिव रामकुमारले घोडाघोडी क्षेत्रमा जलपंक्षीको सङ्ख्या निरन्तर घट्दै गएको जानकारी दिए। घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले जलपंक्षी घट्नुको मुख्य कारण चोरी–सिकारी रहेको बताए।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायले घोडाघोडी सिमसार प्राकृतिक सम्पत्ति भएकाले सबैको साझा प्रयासमा यसको संरक्षण आवश्यक रहेको बताए। घोडाघोडी क्षेत्र जैविक विविधताले भरिएको छ। चराको वासस्थान जोगाउँदै संरक्षणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्छ उनले भने।
घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले पनि चराको संरक्षणका लागि उनीहरूको बासस्थान सुरक्षित गर्नुपर्नेमा जोड दिए। वर्ड स्याङ्क्चुरी घोषणामा मात्र सीमित नराखी व्यवहारमै संरक्षण गर्नुपर्ने उनको भनाइ थियो।
नेपालमै सबैभन्दा धेरै तालतलैया भएको जिल्लाका रूपमा चिनिने कैलालीमा घोडाघोडी ताल तराई क्षेत्रकै सबैभन्दा ठूलो प्राकृतिक ताल हो। घोडाघोडी क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल रहेका छन्। तीमध्ये घोडाघोडी र नकरोड ताल चराको वासस्थानका लागि सबैभन्दा उपयुक्त मानिने चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए।
उनका अनुसार घोडाघोडीमा पहिले करिब दुई हजार २०० को हाराहारी जलपंक्षी रहेकामा गत वर्ष त्यो सङ्ख्या घटेर करिब १ हजार १०० मा सीमित भएको छ। घोडाघोडीको सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको सङ्ख्यासमेत घट्दै गएको छ। सुरक्षित प्रजननस्थल मानिएको घोडाघोडीमा वासस्थान असुरक्षित बन्दै जानु र आहारा घट्नुले यसको सङ्ख्या घटेको हो चौधरीले बताए।
घोडाघोडी क्षेत्र रैथाने तथा आगन्तुक चराको महत्त्वपूर्ण वासस्थान भएकाले सुदूरपश्चिम प्रदेश सरकारले २०७८ फागुन २७ गते नेपालकै पहिलो चरा अभयारण्य क्षेत्र घोषणा गरेको थियो। हाल घोडाघोडी सिमसार क्षेत्रमा ३८१ प्रजातिका चरा पाइने तथ्याङ्क छ।













