बैतडीको पाटन नगरपालिका-८ खोड्पे जसुलीखालीका ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्तले विगत २७ वर्षदेखि दलित बस्तीमा वैदिक विधिबाट धार्मिक कर्मकाण्ड गर्दै जातीय तथा सांस्कृतिक कुरीति हटाउने अभियान सञ्चालन गर्दै आएका छन्।
पन्तले दलित समुदायमा सप्ताह, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायत एक सयभन्दा बढी धार्मिक कर्मकाण्ड सम्पन्न गरिसकेका छन्। उनका अनुसार अहिलेसम्म दलित बस्तीमा ३५ वटा सप्ताह, २१ वटा शिवपुराण, २७५ लघुरुद्राभिषेक, १७८ महारुद्राभिषेक, ६५४ सत्यनारायण पूजा, ५७१ ग्रहशान्ति, २५ शतचण्डी, ५१ अखण्ड रामायणसहित जम्मा एक हजार ३९७ भन्दा बढी कर्मकाण्ड सम्पन्न भइसकेका छन्।

जिल्लाकै प्रसिद्ध श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्गका मूल पुजारीसमेत रहेका पन्तले जातीय विभेद हटाउने उद्देश्यले आचार्य कृष्ण दमाईँसहित १ हजार ११ जना सिल्पी समुदायका व्यक्तिलाई जनैधारण गराइसकेको जानकारी दिए। आचार्य कृष्ण दमाईँले पशुपति कोटिहोमको व्यासपीठबाट प्रवचनसमेत दिएका थिए।
धर्मग्रन्थमा दलित वा महिलामाथि कुनै जातीय वा लैङ्गिक विभेद नभएको उल्लेख गर्दै पन्तले समाजमा व्याप्त छाउपडी प्रथा र जातीय विभेद हटाउन धार्मिक अगुवाहरू अघि सर्नुपर्ने बताउँदै आएका छन्। कानुनले अपराध मानेका कुरीतिहरू हटाउन धार्मिक क्षेत्रबाटै पहल हुनुपर्नेमा उनको जोड छ।

‘सुदूरपश्चिममा अहिले पनि ब्राह्मणले दलित बस्तीमा गएर न्वारन, विवाह, व्रतबन्ध गर्दैनन्। चिहान घाटमा समेत जातीय विभेद छ पन्तले भने त्यस्ता कुरीति हटाउन म आफैँ अभियानमा लागेको हुँ। दलितको घरमा धार्मिक कार्य गर्दै भोजनसमेत ग्रहण गर्दै आएको छु।
दलित समुदायभित्रै पनि विभेद रहेको उल्लेख गर्दै उनले एक दलित समुदायले अर्को दलित समुदायसँग पानी-भान्सा नचलाउने प्रवृत्ति आफूले देखेको बताए। यो गलत हो, हटाउनुपर्छ उनको भनाइ छ।

सन्ध्या पूजा गर्दा अहिले पनि अथर्ववेदलाई दलितको वेद भन्दै भुइँमा पानी खसाल्ने गलत परम्परा रहेको बताउँदै उनले अथर्ववेदकै ज्ञानबाट मोबाइल, रेडियो, टिभी, गाडी र हवाईजहाजजस्ता प्रविधि विकास भएको दाबी गरे। हामी सबै त्यसको उपभोग गरिरहेका छौँ तर त्यही ज्ञान निर्माण गर्ने शिल्पकारमाथि विभेद भइरहेको छ उनले भने।
कुरीति हटाउने अभियान थालेपछि गैरदलित समुदायका पुर्ख्यौली ५ सय ७५ यजमान छुटेको बताउँदै पन्तले सामाजिक सञ्जालमार्फत तुच्छ गालीगलौजसमेत सहनुपरेको पीडा सुनाए। गाली आए पनि म आफ्नो धर्म र कर्मबाट विचलित भएको छैन उनले भने।
दलितमाथि हुने विभेदविरुद्ध कानुनी कारबाही हुनुपर्ने माग गर्दै उनले प्रत्येक हिन्दुको घर-घरमा वेद, पुराण, शालिग्राम, तुलसीको मट, शङ्ख-घण्ट र पाञ्चायन देवताको स्थापना गराउने योजना रहेको बताए।
धर्मशास्त्रका आधारमा महिला र पुरुष दुई जात मात्र हुन्, अन्य जात हुँदैन पन्तले भने मनुस्मृतिजस्ता विभेदकारी ग्रन्थहरू संशोधन हुनुपर्छ र सबै धार्मिक स्थलमा समावेशी पूजा-पाठको व्यवस्था हुनुपर्छ।
धार्मिक कार्यका लागि ९८६०२७८१०० मा सम्पर्क गर्न सकिने उनले जानकारी दिए।













